
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। आफ्नो असहमतिबीच काठमाडौँमा विशेष महाधिवेशन जारी रहेका बेला देउवाले आज दिउँसो ३ बजेका लागि निकटस्थ नेताहरूलाई बोलाएका हुन्।
यसअघि देउवाले कानुनी पृष्ठभूमि भएका नेता र कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए। विशेष महाधिवेशनको बन्दसत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेपछि र महाधिवेशनको कार्यविधि समेत पारित भएपछि देउवाले आन्तरिक छलफल तीव्र पारेका हुन्।
विशेष महाधिवेशनले नयाँ कार्यविधि पारित गरेसँगै उत्पन्न परिस्थिति र महामन्त्रीहरूका प्रतिवेदनमाथि कसरी अगाडि बढ्ने भन्नेबारे देउवा समूहले रणनीति बनाउन लागेको बुझिएको छ।
























