
काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारीमा जुटेको छ। निर्वाचन आयोगले समय घर्किएको भन्दै सूची लिन अस्वीकार गरेपछि उनेपा कानुनी उपचार खोज्न लागेको हो।
यसअघि पुस १३ र १४ गते समानुपातिक सूची बुझाउने समयमा उनेपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति गरेको थियो। सोही सहमति अनुसार उनेपाका उम्मेदवारहरूको नाम रास्वपाकै बन्दसूचीमा समावेश गरिएको थियो। तर, रास्वपासँगको सहमति भंग भएपछि उनेपाले आफ्नो छुट्टै सूची बुझाउन आयोगमा निवेदन दिएको थियो।
उनेपाका नेता जितराम लामाका अनुसार पार्टीले समानुपातिक निर्वाचन लड्नका लागि ५० हजार रुपैयाँ दस्तुर बुझाएर रसिद समेत लिइसकेको छ। ‘समानुपातिक सूचीमा त्रुटि सच्याउने समय बाँकी नै रहेकाले हाम्रो सूची बुझियोस् भनेर निवेदन दिएका छौँ, तर आयोगको आधिकारिक निर्णय आएको छैन’ लामाले भने।
आयोगले सूची लिन नमानेमा त्यसको आधिकारिक कारणसहितको पत्र लिएर अदालत जाने पार्टीको योजना छ। आयोगले यसअघि समय सकिएको भन्दै उनीहरूलाई फर्काइदिएको थियो।
























