
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र जारी छ । सोमबार बन्दसत्र सकिएन । मंगलबार (आज) बिहान ९ बजेदेखि पुनः सुरु हुँदै छ ।
विभिन्न कारणले सोमबार स्थगित भएको बन्दसत्रले मंगलबार पनि निरन्तरता पाउने भएको हो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार बन्दसत्र पुनः सुरु भएसँगै नेतृत्व परिवर्तनसम्बन्धी प्रस्ताव र त्यससँग जोडिएका प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्ने संकेत देखिएको छ ।
केन्द्रीय समितिले विशेष महाधिवेशनको औपचारिक स्वामित्व नलिए पनि बन्दसत्रले नेतृत्व परिवर्तन गर्ने कार्यविधि पहिले नै पारित गरिसकेको उनले बताए । त्यसैले मंगलबारको बन्दसत्र सोही कार्यविधि अनुरूप अघि बढ्ने स्पष्ट संकेत उनले गरेका छन् ।
‘सभापति वा कार्यवाहक सभापति आएर विशेष महाधिवेशनको स्वामित्व लिनु भएन भने हलले पारित गरिसकेको कार्यविधिअनुसार नै प्रक्रिया अघि बढ्छ,’ आचार्यको भनाइ छ । बन्दसत्र अब केन्द्रीय नेतृत्वको उपस्थितिमा मात्र निर्भर नरहने र प्रतिनिधिहरूको निर्णय प्रक्रियाले गति लिने अवस्था बनेको उनले बताए ।
विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले बन्दसत्रको माहोल नेतृत्वप्रति अनुकूल नरहेको दाबी गरेका छन् । उनका अनुसार अहिलेको ‘हलको मुड’ नेतृत्व कायम राख्ने दिशामा नरहेको देखिन्छ ।
महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भयो भन्ने सन्देश नेतृत्वबाट आएको अनुभूति गरेकाले आफूहरू अपमानित भएको महसुस गरिरहेको पोखरेलको भनाइ छ । ‘प्रतिनिधिहरूले आफूहरूलाई हल्का रूपमा लिइएको ठानेका छन्,’ पोखरेलले भने, ‘यही कारणले उहाँहरू अहिले सभापतिलाई सम्मान गर्ने वा नेतृत्व जोगाइदिने मानसिकतामा देखिनुहुन्न ।’
उनका अनुसार मंगलबार वा बुधबारसम्म सभापतिसहित शीर्ष नेताहरू आएर विशेष महाधिवेशनको स्वामित्व लिएर प्रतिनिधिहरूलाई विश्वस्त पार्न सके अवस्था केही फरक हुन सक्छ । तर, हालसम्म देखिएको माहोल त्यसतर्फ नदेखिएको उनको विश्लेषण छ ।
पोखरेलले बन्दसत्र सुरु भएपछि नेताहरू अनुपस्थित रहे प्रतिनिधिहरूलाई निर्णय प्रक्रियाबाट रोक्न नसकिने पनि स्पष्ट पारे । ‘नेताहरू आएर आश्वस्त पार्नु भयो भने राम्रो,’ उनले भने, ‘तर, बारम्बार के हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै बस्ने अवस्था छैन । मंगलबार बिहान ९ बजेदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने दिशामा बन्दसत्र अघि बढ्छ ।’
यसले विशेष महाधिवेशन अब निर्णायक मोडमा पुगेको संकेत गरेको छ । विशेष महाधिवेशन चलिरहेकै बीच कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि मंगलबार बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ । केन्द्रीय कार्यसमितिको बैठक र विशेष महाधिवेशनको बन्दसत्र एकै दिन बस्न लागेकाले पार्टीभित्रको राजनीतिक गतिविधि थप तातिने देखिएको छ ।
केन्द्रीय नेतृत्वले विशेष महाधिवेशनप्रति कस्तो निर्णय लिन्छ र बन्दसत्रले नेतृत्व परिवर्तनको प्रक्रिया कहाँसम्म पुर्याउँछ भन्ने विषय अहिले कांग्रेसभित्र मात्र नभएर समग्र राजनीतिक वृत्तमा पनि चासोको विषय बनेको छ । प्रतिनिधिहरूको असन्तुष्टि, नेतृत्वप्रतिको प्रश्न र प्रक्रियागत रूपमा अघि बढिसकेको कार्यविधिले बन्दसत्रलाई विशेष महत्त्वको बनाएको छ ।
























