
काठमाडौँ । भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्की बजार क्षेत्रमा सोमबार राति भीषण आगलागी भएको छ। उक्त आगलागीमा परेर ९ जना नेपाली श्रमिकहरू सम्पर्कविहीन भएका छन्। भारतस्थित नेपाली दूतावासका अनुसार आगलागीले सो बजार क्षेत्रका करिब १०–१२ वटा घर जलेर ध्वस्त भएका छन्। आगलागीका क्रममा ग्यास सिलिन्डरहरू समेत विस्फोट हुँदा घटना थप भयानक बनेको र त्यहाँ कार्यरत नेपालीहरू पनि त्यसको चपेटामा परेको हुनसक्ने दूतावासको प्रारम्भिक अनुमान छ।
घटनास्थलबाट हालसम्म दुईवटा शव निकालिएको छ, तर ती शवहरू जलेर पहिचान गर्न नसकिने अवस्थामा रहेकाले पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने देखिएको छ। आगलागीमा परी बेपत्ता भएका ९ जना नेपाली नागरिकहरूको खोजी कार्यलाई भारतस्थित नेपाली दूतावासले तीव्रता दिएको छ। दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापाले हिमाचल सरकारसँगको समन्वयमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।
हिमाचल प्रहरीले भग्नावशेषमा हराइरहेका नेपालीहरूको सूची दूतावासलाई उपलब्ध गराएको छ। उक्त सूचीअनुसार बेपत्ता हुनेहरूमा सल्यान जिल्लाका ५ महिला र ४ पुरुष रहेका छन्। हिमाचल सरकारले आगलागीको कारणबारे अनुसन्धान सुरु गर्नुका साथै हराइरहेका व्यक्तिहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरेको छ। बेपत्ता नेपालीहरूको पहिचान र उद्धारका लागि नेपाली दूतावासले स्थानीय प्रशासनसँग निरन्तर सम्पर्क गरिरहेको छ।

























