
झापा । जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित जिल्लाभित्र इजाजत लिएर राखिएका सबै प्रकारका हातहतियार माघ मसान्तभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।
प्रशासनले बुधबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले समयसीमा नाघेमा कानुनी कारबाही हुने स्पष्ट पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार झापा जिल्लाभित्र कानुनी रूपमा इजाजत प्राप्त गरी राखिएका बन्दुक, राइफल, रिभल्वरलगायत सबै प्रकारका हातहतियार तथा तिनमा प्रयोग हुने गोलीगठ्ठा सम्बन्धित धनीले आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउनुपर्ने छ ।
निर्वाचन अवधिमा कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन तथा आमनागरिकमा सुरक्षा अनुभूति कायम गर्नलाई प्रशासनले हतियार बुझाउन भनेको हो । प्रशासनले निर्वाचन सम्पन्न भएको मितिबाट २१ दिनपछि सम्बन्धित हातहतियारधनी स्वयं कार्यालयमा उपस्थित भई आवश्यक कागजात पेस गरेपछि हातहतियार फिर्ता लिन सक्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।
तोकिएको प्रक्रिया पूरा गरेर मात्रै हातहतियार फिर्ता दिइने भएकाले धनीहरूलाई इजाजतपत्रलगायत आवश्यक कागजात सुरक्षित राख्नसमेत प्रशासनले आग्रह गरेको छ । झापा प्रशासनले शान्तिपूर्ण र सुरक्षित निर्वाचन लोकतन्त्र र राष्ट्रको गौरव भएको उल्लेख गर्दै यस अभियानलाई सफल बनाउन सम्पूर्ण जिल्लावासी, नागरिक समाज, राजनीतिक दल तथा सरोकारवाला निकायसँग पूर्ण सहयोगको अपेक्षा गरेको छ ।
निर्वाचनको समयमा सुरक्षा चुनौती बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै हातहतियार संकलनलाई कडाइका साथ कार्यान्वयन गरिने जनाउँदै प्रशासनले सबैलाई नियमको पालनाका लागि आह्वान गरेको छ ।

























