
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा ठूलो फेरबदल देखिएको छ ।
निर्वाचन आयोगका अनुसार विभिन्न १७ वटा चुनाव चिह्नअन्तर्गत समावेश भएका कूल १७५ जना उम्मेदवारले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिएका छन् । दलहरूको आन्तरिक निर्णय, एकता प्रक्रिया र रणनीतिक समायोजनका कारण यो संख्यामा उल्लेखनीय वृद्धि भएको आयोगको विश्लेषण छ ।
आयोगले समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारलाई नाम फिर्ता लिन पुस २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकेको थियो । आयोगले यससम्बन्धी सूचना सार्वजनिक गरी उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने व्यवस्था गरेको थियो ।
तोकिएको समयसीमाभित्र एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले औपचारिक रूपमा नाम फिर्ता लिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए । उनका अनुसार नाम फिर्ता लिनेमा राजनीतिक दलका तर्फबाट बन्दसूचीमा समावेश भएकासहित एकल चुनाव चिह्न प्रयोग गरेर नाम दर्ता गराएका उम्मेदवारसमेत रहेका छन् ।
यसले समानुपातिक प्रणालीमा उम्मेदवार छनोटको अन्तिम चरणमा दलहरू कति सक्रिय र रणनीतिक छन् भन्ने देखाउँछ । सबैभन्दा धेरै उम्मेदवार फिर्ता लिने दलको सूचीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अगाडि देखिएको छ । लोसपाबाट मात्र ११० जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगले जनाएको छ ।
सहायक प्रवक्ता जीसीका अनुसार अन्य दलसँग एकता प्रक्रिया अघि बढेकाले लोसपाले यसअघि पेस गरेका सबै उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएको हो । दल एकतासँगै नयाँ सूची र नयाँ व्यवस्थापनतर्फ जाने तयारीका कारण यस्तो निर्णय गरिएको बताइएको छ ।
लोसपापछि जनमत पार्टीका २० जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १२ जना, जनादेश पार्टी नेपालबाट ६ जना र नेकपा (एमाले) बाट ५ जना उम्मेदवारले समानुपातिक बन्दसूचीबाट बाहिरिने निर्णय गरेका छन् । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका ४–४ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २–२ जना उम्मेदवारले बन्दसूचीबाट नाम हटाएका छन् । यसले ठूला र नयाँ दुवै खालका दलहरूमा आन्तरिक पुनर्संयोजन भइरहेको संकेत गर्छ ।
एकल चुनाव चिह्नका तर्फबाट पनि नाम फिर्ता लिने क्रम देखिएको छ । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्न प्रयोग गरी बन्दसूचीमा नाम पेस गरेका १–१ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । त्यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पनि १–१ जना उम्मेदवारले बन्दसूचीबाट नाम हटाएका आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि दलहरूले पुस १३ र १४ गते निर्वाचन आयोगमा बन्दसूची पेस गरेका थिए । त्यसपछि कानुनी प्रक्रिया अनुसार नाम फिर्ता लिने चरण पूरा भएसँगै अब अन्तिम सूची तयार भएको छ ।
नेपालको संघीय संसद् अन्तर्गत २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । समानुपातिकतर्फ सिट बाँडफाँट गर्दा पछिल्लो जनगणनाका आधारमा महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम र अन्य समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार आयोगले आवश्यक मापदण्ड तय गरी निर्वाचन प्रक्रिया सञ्चालन गर्दै आएको छ ।
























