
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न उनका आफन्त तथा शुभचिन्तकहरूले आग्रह गरेका छन्। मंगलबार ललितपुरको ज्वागलमा भएको एक भेटघाट र छलफलका क्रममा महोत्तरीबाट आएका आफन्त र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता-कार्यकर्ताले यस्तो सुझाव दिएका हुन्।
बालेनको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिकामा पर्दछ। लामो समयदेखि काठमाडौँमा बसोबास गर्दै आए पनि उनको पारिवारिक सम्बन्ध र घर महोत्तरीमै रहेको छ। माघ ४ गते महानगरको मेयर पदबाट राजीनामा दिएर रास्वपामा प्रवेश गर्ने तयारीमा रहेका बालेनलाई आफ्नो गृहजिल्लाबाटै निर्वाचन लड्न दबाब बढेको हो।
यसअघि बालेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट चुनाव लड्न सक्ने चर्चा चल्दै आएको थियो। तर, पछिल्लो समय महोत्तरीबाट आएको यो प्रस्तावले नयाँ मोड दिएको छ। बालेनका एक सचिवालय सदस्यका अनुसार, महोत्तरीबाट आएका आफन्तहरूले त्यहाँको वस्तुस्थिति र राजनीतिक माहोलबारे बालेनलाई विस्तृत जानकारी गराएका छन्।
रास्वपामा दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी पाउने चर्चा रहे पनि बालेन हालसम्म पार्टी कार्यालय गएका छैनन्। उनी हाल ज्वागलमै बसेर विभिन्न राजनीतिक परामर्श र अन्तरक्रियामा व्यस्त छन्। पार्टीमा प्रवेश गरेलगत्तै माघ ५ गते उनी जनकपुर जाने कार्यक्रम तय भएको छ। जनकपुरमा आयोजना हुने पार्टीको औपचारिक कार्यक्रमबाटै उनी सक्रिय चुनावी राजनीतिमा होमिने तयारीमा रहेको रास्वपा स्रोतले जनाएको छ।
























