
धनगढी । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा थारू समुदायको महान् पर्व माघीको उल्लास सुरु भएको छ। पुसको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म मनाइने यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा स्वागत गर्दै विशेष उत्साहका साथ मनाउन थालेका हुन्।
थारू कल्याणकारी सभाका केन्द्रीय उपाध्यक्ष प्रभातकुमार चौधरीका अनुसार अहिले थारू गाउँबस्तीहरूमा मासुका लागि ‘जिता मार्ने’ (बङ्गुर काट्ने) देखि सांस्कृतिक नाचगानको तयारी तीव्र पारिएको छ। पुस मसान्तको रातभर जाग्राम बस्ने, भगवान्को नाममा ‘धमार’ (भजनकीर्तन) गर्ने, आगो ताप्ने र गञ्जी तथा तरुलजस्ता परिकार खाएर रमाइलो गर्ने चलन रहेको छ।
परम्परा र संस्कृति: माघे संक्रान्तिको दिन बिहानै नजिकैको नदी वा तलाउमा गई स्नान गर्ने र नदीमा सिक्का पैसा चढाउने धार्मिक परम्परा छ। स्नानपछि घर आएर महिलाहरूले छुट्याएको चामल र मासको दाल छुने र उक्त सामग्री छोरीबेटीलाई दान गर्ने (निसराउ) प्रचलन छ। यसै दिन घरका मान्यजन र पुर्खाहरूबाट आशीर्वाद लिने गरिन्छ।
पर्वको तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने र नजिकैका बजारहरूमा जाने गरिन्छ। कैलालीको फकलपुरका स्थानीय माधव चौधरीका अनुसार यतिबेला थारू बस्तीहरूमा मघौटा नाच, लोकगीत तथा डफ र मादलको आवाज गुञ्जिन थालेको छ।
समीक्षा र सामाजिक सद्भाव: थारू समुदायले माघीलाई विगतका गतिविधिको समीक्षा गर्ने अवसरका रूपमा समेत लिने गर्छन्। यसै पर्वसँगै समुदायमा विवाह, अंशबन्डा र नयाँ योजनाको थालनी गर्ने विधान छ। आपसी वैमनस्य त्यागेर इष्टमित्रलाई भेट्ने र अण्डी चामलको भात, ढिक्री, घोङ्गी, सुँगुरको मासु र माछाजस्ता परिकार खुवाउने गरिन्छ।
नयाँ वर्षको सुरुवात भएकाले नयाँ लुगा लगाउने र उत्सव मनाउने गरिन्छ। रोजगारीका लागि बाहिर रहेका सदस्यहरू पनि घर फर्किएपछि गाउँको माहोल थप उत्सवमय बनेको छ। धनगढीका माइला चौधरी भन्छन्, “आफन्त र साथीभाइ मिलेर रमाइलो गरिरहेका छौँ, माघीको यो चहलपहलले विगतका सबै पीडा भुलाइदिन्छ।” माघीको अवसरमा थारू बस्तीहरूमा विभिन्न मेला तथा महोत्सवको समेत आयोजना गरिएको छ।

























