मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा रवि लामिछानेको निवेदन

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार १२:५३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ताको माग गर्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका छन्। सहकारी ठगी प्रकरणमा थुनामा रहँदा नै निवेदन दिएका लामिछानेले हालै धरौटीमा थुनामुक्त भएपछि पुनः पूरक निवेदन दर्ता गराएका हुन्।

लामिछानेले आफूमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोपहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको जिकिर गरेका छन्। सहकारीको रकम अपचलनको मुद्दामा मात्रै १० वर्षभन्दा बढी कैद सजाय माग गर्न नमिल्ने भएपछि आफूलाई हिरासतमा राख्ने आधार बलियो बनाउन अन्य गम्भीर आरोपहरू थपिएको उनको दाबी छ। महान्यायाधिवक्ता कार्यालय उच्च स्रोतका अनुसार उक्त निवेदन अहिले सहन्यायाधिवक्ताको तहमा अध्ययन र छलफलको क्रममा छ।

लामिछानेले मुद्दा फिर्ताको माग गरे पनि विद्यमान कानुनी व्यवस्थाले भने यसलाई कठिन देखाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ११६ अनुसार केही जघन्य र गम्भीर प्रकृतिका मुद्दाहरू फिर्ता लिन मिल्दैन। विशेष गरी सम्पत्ति शुद्धीकरणको आरोप फिर्ता लिन नमिल्ने मुद्दाको सूचीमा रहेको छ। त्यसैगरी, सरकारले २०७७ सालमा जारी गरेको फौजदारी मुद्दा फिर्ता लिनेसम्बन्धी निर्देशिका अनुसार संगठित अपराधको मुद्दा समेत फिर्ता गर्न नमिल्ने व्यवस्था छ। निर्देशिकाले प्रचलित कानुनले निषेध गरेका मुद्दाहरू फिर्ता लिन रोक लगाएको छ।

पूर्वगृहमन्त्री लामिछानेमाथि कास्की, रूपन्देही र काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ। गोर्खा मिडिया प्रालिको प्रबन्ध निर्देशक रहँदा जीबी राई लगायतसँगको मिलेमतोमा सहकारीको रकम अपचलन गरेको आरोप उनीमाथि छ। हाल उनी उच्च अदालत बुटवलको आदेशपछि धरौटी र बैंक जमानतमा थुनामुक्त भई अनुसन्धान र अदालती प्रक्रियामा सहभागी भइरहेका छन्।

महान्यायाधिवक्ता कार्यालयले सहन्यायाधिवक्ता र नायव महान्यायाधिवक्ताको राय आएपछि मात्र यस विषयमा अन्तिम निर्णयका लागि महान्यायाधिवक्ता समक्ष पेस गर्ने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.