
जनकपुरधाम । देशमा सुशासन कायम गर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने विषय वर्तमान सरकारको मुख्य दायित्व रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्। जनकपुरधाममा बुधबार आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले २३ र २४ भदौको घटना पश्चात् देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा जेनजी पुस्ता र दलीय सहमतिमा अहिलेको सरकार गठन भएको उल्लेख गरे।
नागरिक सरकार भएकाले युवापुस्ताको जनभावना अनुरूप समन्वय गरेर अघि बढ्ने र निष्ठापूर्वक काम गर्ने उनले स्पष्ट पारे। सोही कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गोष्ठीले प्रदेशको सुरक्षा अवस्था र आगामी निर्वाचनका लागि तय गरिनु पर्ने रणनीतिबारे समान धारणा बनाउने विश्वास व्यक्त गरे।
उनले तराईमा देखिएको धार्मिक साम्प्रदायिकता, भौतिक पूर्वाधारमा भएको क्षति, लुटिएका हतियार र फरार कैदीबन्दी जस्ता सुरक्षा चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री यादवले संघीय प्रहरी ऐनको अभाव र प्रदेश प्रहरी समायोजन हुन नसक्दा सुरक्षा व्यवस्थापनमा कठिनाइ भइरहेको भन्दै कटाक्ष समेत गरे। मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री फकिर महतोले पनि प्रहरी समायोजन नहुँदा प्रदेश संरचनामा सुरक्षा चुनौती थपिँदै गएको धारणा व्यक्त गरे।

























