
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि निर्वाचन आयोगले आज देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छ। आगामी माघ ६ गते हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयनलाई मध्यनजर गर्दै आयोगले सबै क्षेत्रमा कार्यालय खोलेर कर्मचारी खटाउने तयारी पूरा गरेको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार आजदेखि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू सञ्चालनमा आउनेछन्। आयोगले यसअघि नै प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृतहरूको नाम तय गरिसकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एक-एकवटा निर्वाचन क्षेत्रको जिम्मेवारी सुम्पिएको छ।
आयोगले न्याय परिषद्सँगको परामर्शमा जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गरेको हो। यी कार्यालयहरू स्थापना भएसँगै उम्मेदवारी दर्ता, दाबी विरोध, र निर्वाचनसम्बन्धी अन्य व्यवस्थापकीय कार्यहरू सम्बन्धित क्षेत्रबाटै अघि बढ्नेछन्।

























