
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूबाट अभिभावकीय भूमिकाको अपेक्षा गरेको बताएका छन्। निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पार्टीभित्रका विमतिहरू अब अन्त्य हुनुपर्नेमा जोड दिए।
देउवा र कोइरालासँग संवादको हात सभापति थापाले पार्टीलाई एकताबद्ध बनाउन निवर्तमान सभापति देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहयोग आवश्यक रहेको बताए। “हामीले शेरबहादुर देउवाजीबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौँ,” थापाले भने, “उहाँले देशभरका साथीहरूलाई अब विवाद रोकौँ भनिदिनुपर्छ। वरिष्ठ नेता शेखर कोइराला र पूर्णबहादुर खड्काजीबाट पनि हामीले त्यही भूमिका चाहेका छौँ।”
थापाले पार्टीभित्र देखिएको असन्तुष्टि र विमतिलाई संवादमार्फत हल गरिने बताउँदै आगामी दुई–तीन दिनभित्रै सबै नेताहरू एकै ठाउँमा बसेर पार्टीलाई अगाडि बढाउने दाबी गरे। आयोगको निर्णय र आन्तरिक विवाद निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्णय गरेपछि पूर्णबहादुर खड्काले व्यक्त गरेको असन्तुष्टिप्रति टिप्पणी गर्दै थापाले यसलाई ‘स्वाभाविक’ भनेका छन्। उनले भने, “विशेष महाधिवेशन विधानसम्मत भयो कि भएन भनेर आयोगमा परीक्षण गर्न जानु साथीहरूको अधिकार हो, यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौँ।”
नयाँ युगको कांग्रेस सभापति थापाले अब आधिकारिकताको विवाद टुंगिसकेकाले सबै पक्षलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले नयाँ युगको चेतनाअनुसार कांग्रेस निर्माण गर्नका लागि नयाँ र पुराना दुवै पुस्ताका नेताहरूलाई मिलाएर लैजाने बताए। पार्टीभित्रको शक्ति संघर्ष र निर्वाचन आयोगको फैसलापछि उत्पन्न परिस्थितिलाई मत्थर पार्दै चुनावी तयारीमा होमिन थापाले एकताको सन्देश दिन खोजेका हुन्।
























