
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ६ बुँदे निर्णय सार्वजनिक गरेको छ। निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि शनिबार नयाँ बानेश्वरमा सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले पार्टीको आगामी कार्यदिशा तय गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेको निर्णयअनुसार कांग्रेसले निर्वाचन आयोगको पछिल्लो फैसलालाई कसैको हार वा जितभन्दा पनि विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ। आयोगले शुक्रबार विशेष महाधिवेशनका निर्णयलाई वैधानिकता दिएपछि कांग्रेसभित्रको कानुनी अन्योल हटेको निष्कर्ष बैठकले निकालेको छ।
बैठकले पूर्वसभापति शेरबहादुर देउवाले लामो समयदेखि पार्टी नेतृत्वमा रहेर पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ। कांग्रेसले देउवाबाट आगामी दिनमा पार्टीलाई थप सुदृढ बनाउन अभिभावकीय भूमिका प्राप्त हुने विश्वास समेत व्यक्त गरेको छ।
अब कुनै ‘अप्राकृतिक गठबन्धन’ नगर्ने कांग्रेसले अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएको छ। बैठकले मूल्य र मान्यताको राजनीतिमा अडिग रहँदै संविधानको रक्षा र नवयुवाको आकांक्षालाई सम्बोधन गर्ने निर्णय गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘रूपान्तरण, एकता र विजयको नयाँ अध्याय’ भन्दै कांग्रेसले नवीन ऊर्जाका साथ मैदानमा उत्रने निर्णय गरेको छ। बैठकले विभिन्न कारणले पार्टीबाट टाढिएका वा निष्क्रिय रहेका सबैलाई पुनः जोडिन आग्रह गर्दै पूर्ण एकताका साथ निर्वाचनमा सहभागी हुन सबै तहका समिति र भ्रातृ संस्थाहरूलाई निर्देशन दिएको छ। परिवर्तनको पक्षमा उभिने सबैप्रति आभार प्रकट गर्दै प्रवक्ता चालिसेले यो बैठकले कांग्रेसमा नयाँ अध्यायको सुरुवात गरेको जानकारी दिए।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते नयाँ बानेश्वरमा बसेको बैठकले गरेका निर्णयहरू –
१ निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन— यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।
२ . यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश-विदेशमा रहेका सवै काग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ ।
३ . विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन : जोडिन यो वैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।
४ . यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो वैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।
५, नेपाली काग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँनेछैन । हामि सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौ ।
६ . यो नयाँ अध्याय हो— रुपान्तरणको, एकताको, विजयको ।
सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।
जय नेपाल
देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस
























