
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी टुङ्गो लगाएको छ। पार्टीका नेता हरिबोल गजुरेल ‘सितलकुमार’ का अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ मा रञ्जित तामाङलाई उम्मेदवार बनाइएको छ।
यस्तै भोजपुरमा अजम्बर काङमाङ राई, ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी र पाँचथरमा हर्कबहादुर नेम्वाङ (मिक्सो) को नाम टुङ्गिएको छ। यी चारै जना उम्मेदवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टिकट हस्तान्तरण गरिसक्नुभएको छ।
अन्य क्षेत्रका उम्मेदवारहरू माओवादी केन्द्रले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा मनोज भट्टराई, मोरङ क्षेत्र नम्बर ४ मा अमनलाल मोदी, मोरङ ५ मा शिवकुमार मण्डल र मोरङ ३ मा डाक्टर देउमान सम्बाहाम्फेलाई उठाउने अन्तिम निर्णय गरेको छ। यसैगरी झापा क्षेत्र नम्बर १ का लागि अशेष घिमिरेको नाम टुङ्ग्याइएको छ।
उम्मेदवारको नाम फाइनल भए पनि टिकट वितरणको बाँकी काम भने आइतबार दिनभरमा सकिने नेता गजुरेलले जानकारी दिनुभयो। माघ ६ गते हुने मनोनयन दर्तालाई लक्षित गर्दै माओवादीले आफ्ना उम्मेदवारहरूलाई चुनावी मैदानमा उतार्ने तयारी तीव्र पारेको छ।

























