राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु 

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार १३:००
राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु 

काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित संघीय संसद् सचिवालय परिसरको राष्ट्रिय सभाको पुरानो भवनमा सुरु भएको छ । अधिवेशनमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरेका हुन् ।

उनले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । त्यस लगत्तै लोकतन्त्रका लागि योगदान पुर्‍याउने सहिदप्रति सम्मानका लागि मौन धारण गरियो । बैठकले सभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

वि.सं. २००८ मा जन्मिएका कञ्चनपुरका बोहराको गत पुस ३० मा निधन भएको थियो । उनी वि.सं. २०७० मा संविधानसभा सदस्य र २०८० सालमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए । स्व. बोहराको निधनप्रति सभाले शोक प्रस्ताव पारित गरेको छ।

माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो । राष्ट्रिय सभाका सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । त्यसमध्ये सभाका एक तिहाइ सदस्यको कार्यकाल भने प्रत्येक २ वर्षमा सकिन्छ ।

हाल राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट (नेकपा) को २५, नेपाली काँग्रेस १७, नेपाल कम्युनिस्ट (एमाले) ९, जनता समाजवादी पार्टी (जसपा) ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १, राष्ट्रिय जनमोर्चाको १ र मनोनीत ३ सदस्य छन् । यही माघ ११ गते १९ जना नयाँ सदस्य चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको अर्को बैठक यही माघ ९ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्ने छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.