
काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोग पुगेको छ। पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई कार्यतालिका रोक्न माग गर्दै आयोग पठाइएको देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिए।
निर्वाचन आयोगले आगामी माघ ६ गतेका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति तोकेको छ। यद्यपि कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले आधिकारिकता दिएपछि देउवा समूह त्यसविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेको हो।
विशेष गरी माघ ६ गतेका लागि नै सर्वोच्च अदालतले रिटको पेसी तोकेको हुनाले सोही दिन उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाउँदा कानुनी जटिलता आउने देउवा समूहको तर्क छ। पार्टीभित्रको आन्तरिक विवाद र आधिकारिकताको विषय सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा निर्वाचन तालिका अघि बढ्दा आफूहरूलाई अन्याय हुने भन्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन्।

























