उम्मेदवार चयनमा उपेक्षा गरिएको भन्दै नेकपाका १२ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार १७:४५

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटमा आफ्नो समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै नवनिर्मित नेपाली कम्युनिस्ट पार्टीका १२ जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्। आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनामा दिनेहरूमा विद्याप्रसाद शर्मा र राधेश्याम गुप्ता लगायतका नेताहरू छन्, जो वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट आएर पार्टी एकता प्रक्रियामा सहभागी भएका थिए।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै जारी गरिएको विज्ञप्तिमा राष्ट्रियसभा, समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा आफ्नो समूहबाट एक जना पनि नपर्नुलाई अपमानको रूपमा हेरिएको उल्लेख छ। एकताका क्रममा अभियानका तर्फबाट १२ जना केन्द्रीय सदस्य जोडिएको स्मरण गराउँदै उनीहरूले नेतृत्वले आफूहरूलाई असक्षम महसुस गराएको तर्क गरेका छन्। छोटो समय पार्टीको जम्बो केन्द्रीय समितिमा रहेर काम गर्ने अवसर दिएकोमा धन्यवाद दिँदै उनीहरूले उम्मेदवारीमा शून्य सहभागिता गराइएपछि नैतिकताका आधारमा पदमा रहिरहनु उपयुक्त नहुने बताएका छन्।

पार्टीभित्र आफ्नो समूहको अस्तित्वलाई स्वीकार नगरिएको र अवसरहरूबाट वञ्चित गरिएको भन्दै उनीहरूले अबदेखि स्वतन्त्र बस्ने निर्णय लिएका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका घटकहरू मिलेर हालै बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ का लागि निर्वाचनको मुखमा भएको यो विद्रोहले चुनावी अभियान र आन्तरिक समीकरणमा चुनौती थप्ने देखिएको छ। १२ जना केन्द्रीय सदस्यले एकैपटक राजीनामा दिएपछि पार्टी नेतृत्वले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.