‘रुख चिह्न बोकेर आउने जोसुकैलाई जिताउन लाग्नुस्’

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार ०९:४३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई विजयी गराउन देशभरका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। टिकट वितरणमा कतिपयको असन्तुष्टि र गुनासो भए तापनि लोकतान्त्रिक अभ्यासमा पार्टीको निर्णयलाई शिरोधार्य गर्दै एकढिक्का भएर लाग्न उनले आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले चुनावलाई केवल प्राविधिक प्रक्रिया मात्र नभई एउटा महत्वपूर्ण अभियानका रूपमा लिन अपिल गरेका छन्। उनले भने, ‘भोलि आ–आफ्नो क्षेत्रमा जाँदा जसले हातमा ‘रुख’ चिह्न लिएर आउँछ, उसैको पक्षमा गोलबद्ध हुनुहोस्। व्यक्तिगत मनमुटाव र असन्तुष्टिहरूलाई पन्छाएर पार्टीको विजय सुनिश्चित गर्नु अहिलेको मुख्य आवश्यकता हो।’

उम्मेदवार चयन प्रक्रियाका सन्दर्भमा बोल्दै थापाले विधानको जटिलता र पुरानो संरचनाका कारण आफूले चाहेजस्तो पूर्ण सुधार गर्न नसकेको स्वीकार गरे। केन्द्रबाटै टिकट वितरण गर्ने परिपाटीलाई उनले ‘त्रुटिपूर्ण’ भन्दै अहिलेको विशिष्ट परिस्थितिका कारण यो बाध्यता सिर्जना भएको स्पष्ट पारे। विधानले हात बाँधिएको भए तापनि पार्टीलाई समावेशी र सन्तुलित बनाउन आफूले अधिकतम प्रयास गरेको उनको दाबी छ।

नयाँ र पुराना पुस्ताका नेताहरूबीच सन्तुलन मिलाउन खोज्दा खोज्दै पनि समयको अभाव र सिफारिस भएका नामहरूको सीमाका कारण सोचेजस्तो नतिजा नआउन सक्ने उनले सङ्केत गरे। तथापि, पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै आज दिनभरिमा सबै उम्मेदवारहरूको टुङ्गो लगाइसक्ने जानकारी उनले दिएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.