
झापा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ। पार्टीको पछिल्लो निर्णयअनुसार जिल्लाका प्रभावशाली क्षेत्रहरूमा रास्वपाले अनुभवी तथा युवा अनुहारहरूलाई चुनावी मैदानमा उतार्ने निश्चित गरेको हो।
यसपटक सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाह (बालेन) ले उम्मेदवारी दिने तय भएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र मानिने झापा ५ मा बालेनको उम्मेदवारीलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। काठमाडौँको मेयर पदबाट राजीनामा दिएर रास्वपामा आबद्ध भएका बालेन र एमाले अध्यक्ष ओलीबीचको प्रतिस्पर्धा यसपटकको निर्वाचनको मुख्य आकर्षण हुने देखिएको छ।
त्यस्तै, रास्वपाले झापा क्षेत्र नम्बर १ बाट निशा डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने क्षेत्र नम्बर २ मा पूर्व उपसभामुख समेत रहेकी इन्दिरा रानामगरले उम्मेदवारी दिने पक्का भएको छ। क्षेत्र नम्बर ३ बाट प्रकाश पाठक र क्षेत्र नम्बर ४ बाट शम्भु ढकाल (सुस्केरा) ले रास्वपाको घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन्। रास्वपाले जिल्लाका सबै क्षेत्रमा सशक्त उपस्थिति जनाउने तयारी गरेको छ।
























