
विराटनगर । नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाउँदै टिकट वितरण कार्य सम्पन्न गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेशसमेत रहेकाले यहाँको उम्मेदवारीलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।
अध्यक्ष ओली स्वयं झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने भएका छन् भने सभामुख देवराज घिमिरे झापा–२ बाट चुनावी मैदानमा उत्रने भएका छन्। त्यस्तै इलाम–२ मा सुहाङ नेम्वाङले टिकट पाएका छन्।
कोशी प्रदेशका अन्य क्षेत्रहरूमा झापाबाट रामचन्द्र उप्रेती, हरि राजवंशी र एलपी सावा उम्मेदवार बनेका छन् भने इलाम–१ बाट काजिमान कागतेले टिकट पाएका छन्। सुनसरीमा सूर्य पन्दाक, रेवतीरमण भण्डारी, भगवती चौधरी र अबुल हुसेन चुनावी मैदानमा उत्रनेछन्।
मोरङका ६ वटा क्षेत्रमा क्रमशः घनश्याम खतिवडा, दिलीप बगेडिया, ईरान राई, जीवन घिमिरे, मनोज अग्रवाल र विनोद ढकालले टिकट पाएका छन्। उदयपुरमा दुर्गा थापा स्वोस्ती र अमर रायमाझीलाई उम्मेदवार बनाइएको छ। त्यसैगरी पाँचथरबाट ऐन्द्रसुन्दर नेम्वाङ, ताप्लेजुङबाट क्षितिज थेबे, धनकुटाबाट राजेन्द्र राई, तेह्रथुमबाट भानुभक्त ढकाल, सङ्खुवासभाबाट डा. अर्जुन कार्की, भोजपुरबाट शेरधन राई, सोलुखुम्बुबाट कल्पना राई, ओखलढुङ्गाबाट अस्मिता थापा र खोटाङबाट देवविक्रम राईले टिकट पाएका छन्।
यसैबीच टिकट वितरणलाई लिएर एमालेभित्र असन्तुष्टि पनि देखिएको छ। पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा एवं पूर्वसांसद यज्ञजित शाहले एमाले परित्याग गरेका छन्। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारको आकांक्षी रहेका उनले पार्टीले वासुदेव घिमिरेलाई टिकट दिएपछि असन्तुष्ट हुँदै अध्यक्ष ओलीलाई राजीनामा बुझाएका हुन्। ९ वर्षअघि ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका शाहले पार्टीमा अवसरवादीहरूको बोलवाला रहेको र निष्ठावान कार्यकर्ताले अवसर नपाएको आरोप लगाएका छन्।
























