योगशले भने, ‘अध्यक्षले निर्णय गरिसकेपछि म किचलो गर्दिनँ’

Share this
632shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १५:१९

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका लागि केही क्षेत्रमा उम्मेदवारहरू पुनर्विचार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सम्भव भएसम्म केही क्षेत्रमा अझै पनि उम्मेदवारहरू मिलाउन विनम्र अनुरोध गरेका हुन्।

आफू ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक रहेको भए पनि पार्टीले त्यहाँ नयाँ उम्मेदवार (क्षितिज थेबे) तय गरेपछि भट्टराईले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्। उनले अध्यक्षबाट टिकट नदिने निर्णय भइसकेकाले अब त्यसमा कुनै विवाद वा किचलो नगर्ने स्पष्ट पारेका छन्। ‘म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ, तर अध्यक्षज्यूले निर्णय गरिसकेपछि म त्यहाँ कुनै किचलो गर्दिनँ’ उनले भनेका छन्।

भट्टराईले आफ्नो आग्रह व्यक्तिगत स्वार्थका लागि नभएको दाबी गर्दै पार्टीले पठाएको उम्मेदवारलाई जिताउनु नै आफ्नो पहिलो कर्तव्य हुने बताए। उनले भने, ‘अध्यक्षज्यूले पठाउनुभएको उम्मेदवारलाई सूर्य चिन्हको ध्वजावाहक मानेर जिताउनु मेरो पहिलो कर्तव्य हुनेछ।’ उम्मेदवार चयनमा देखिएका केही असन्तुष्टिहरूलाई सम्बोधन गर्न सकिए निर्वाचन परिणाम पार्टीको पक्षमा पार्न सहज हुने उनको आशय रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.