
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसभित्र उम्मेदवार चयनको विषयलाई लिएर तीव्र विवाद उत्पन्न भएको छ। नेता डा. शेखर कोइरालाले पार्टीका उम्मेदवारहरूलाई कुन माध्यमबाट र कहाँ बसेर टिकट बाँडिदैछ भन्नेबारे आफूलाई कुनै जानकारी नभएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार डा. कोइरालाको सचिवालयले एक सूचना जारी गर्दै विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापासँग मिलेर जाने विषयमा अहिलेसम्म कुनै पनि तहमा कुराकानी नभएको प्रष्ट पारेको छ। ‘आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि कुनै पनि माध्यमबाट डा. शेखर कोइरालासँग सम्पर्क र कुराकानी गर्नुभएको छैन,’ सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
नेतृत्वसँग सम्पर्कविच्छेदको अवस्था सचिवालयका अनुसार देशभरबाट टिकटका आकांक्षी नेताहरूको भिड लागे पनि नयाँ नेतृत्वले यसबारे डा. कोइरालासँग कुनै छलफल गरेको छैन। विशेष महाधिवेशनपछि पार्टीमा देखिएको वैधानिक संकट र नेतृत्वको विवादका बीच कोइराला पक्षले आफूहरूलाई उम्मेदवार चयन प्रक्रियाबाट पूर्णतः बाहिर राखिएको महसुस गरेको छ।
यता, विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वका तर्फबाट सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने सहमतिमै हिमाली जिल्लाका उम्मेदवारहरूको नाम टुङ्गिएको दाबी गरेका छन्। उनले केही नाम मिलाउन बाँकी रहेको र अन्य जिल्लाको हकमा अपराह्नसम्म टुङ्गो लाग्ने बताएका थिए। तर, डा. कोइरालाको सचिवालयको यो पछिल्लो भनाइले पार्टीभित्रको सहमति केवल देखावटी मात्र रहेको र आन्तरिक कलह अझै गहिरो रहेको संकेत गरेको छ।
पार्टी विभाजन र आधिकारिकताको विवाद निर्वाचन आयोग र अदालतसम्म पुगेको अवस्थामा, संस्थापन इतर पक्षका प्रभावशाली नेता कोइरालाको यो अभिव्यक्तिले कांग्रेसको चुनावी तयारी र एकतामा ठूलो धक्का पुर्याउने देखिएको छ।
























