नेकपाले टुंग्यायो देशभरका उम्मेदवार, रुकुम पूर्वबाट प्रचण्ड भिड्ने

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १५:३८

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ। भोलि माघ ६ गते देशभर उम्मेदवारी दर्ता हुने कार्यतालिका रहेकाले त्यसको अघिल्लो दिन नेकपाले आफ्ना उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो।

जसअनुसार पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट उम्मेदवार बन्ने निश्चित भएको छ। यसअघि फरक–फरक जिल्लाबाट चुनाव लड्दै आएका प्रचण्डले यसपटक रुकुम पूर्व रोज्नुलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। भोलि हुने मनोनयन दर्ताका लागि उनी आजै रुकुम प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

नेकपाले सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा पनि उम्मेदवारको टुङ्गो लगाएको छ। जसमा पूर्वउपप्रधानमन्त्री भीम रावल अछाम–१ बाट, पूर्वमन्त्री विना मगर कञ्चनपुर–१ बाट र प्रेमबहादुर आले कैलाली–५ बाट चुनावी मैदानमा उत्रने भएका छन्। त्यस्तै डोटीबाट पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र बाजुराबाट प्रकाश शाहले टिकट पाएका छन्।

पार्टीले ११० जनाको समानुपातिक बन्दसूची पनि सार्वजनिक गरिसकेको छ, जसमा खसआर्य महिलातर्फ बलावती शर्मा र पुरुषतर्फ प्रमेशकुमार हमाल पहिलो नम्बरमा रहेका छन्। भोलि बिहान १० देखि ५ बजेसम्म हुने उम्मेदवारी दर्ताका लागि नेकपाका सबै उम्मेदवारहरू सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेका छन्।

उम्मेदवार सूची

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.