
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुङ्गो लगाएको छ। कांग्रेस सभापति गगन थापाले पार्टीका शीर्ष नेताहरूसँगको सघन छलफलपछि मुख्यगरी हिमाली र पहाडी जिल्लाका उम्मेदवारहरूको नाम तय गरेका हुन्।
सहमतिअनुसार हुम्लाबाट जयपति रोकाया, मुगुबाट खड्ग बहादुर र जुम्लाबाट दीप बहादुर शाहीले चुनावी मैदानमा उत्रने अवसर पाएका छन्। त्यस्तै डोल्पामा कर्ण बहादुर बुढा, कालिकोटमा हर्ष बम र दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा दिक्पाल शाही तथा क्षेत्र नम्बर २ मा बासना थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ।
पार्टीले सल्यानबाट केश बहादुर विष्ट, बाजुराबाट जनक गिरी र पूर्वी रुकुमबाट कुसुम थापा मगरलाई उम्मेदवारका रूपमा अघि सारेको छ। यसैगरी रोल्पामा डा. सुधन कुमार ओली, प्युठानमा डा. गोविन्दराज पोखरेल र ताप्लेजुङमा गजेन्द्र तुम्येहाङले टिकट पाएका छन्। कोशी प्रदेशका अन्य जिल्लाहरूमध्ये पाँचथरबाट नरेन्द्र केरुङ, तेह्रथुमबाट सन्तोष सुब्बा र धनकुटाबाट दिनेश राईको नाम टुङ्गो लागेको छ भने सुदूरपश्चिमको बैतडीमा चतुर बहादुर चन्दलाई उम्मेदवार बनाइएको छ।
निर्वाचन आयोगले भोलि माघ ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेकाले कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई सम्बन्धित निर्वाचन क्षेत्रमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ। उम्मेदवार चयनका विषयमा पार्टीभित्रका केही पक्षले असन्तुष्टि व्यक्त गरिरहेकै समयमा सभापति थापाले १७ स्थानको नामावली सार्वजनिक गरेका हुन्।
























