निवर्तमान सभामुख र उपसभामुख आमनेसामने

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार १३:२४

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनमा झापा जिल्ला राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ। क्षेत्र नम्बर ५ मा केपी शर्मा ओली र बालेन शाहको चर्चा भइरहँदा क्षेत्र नम्बर २ मा भने विघटित संसद्का दुई शीर्ष पदाधिकारीबीचको लडाइँले सबैको ध्यान खिचेको छ।

यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट निवर्तमान सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निवर्तमान उपसभामुख इन्दिरा राना चुनावी मैदानमा उत्रिएका छन्। एउटै संसद्को पोडियम साझा गरेका यी दुई पात्र अहिले एक–अर्कालाई हराउन जनताको घरदैलोमा पुगेका छन्।

घिमिरे २०७९ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए भने राना समानुपातिक कोटाबाट सांसद हुँदै उपसभामुख बनेकी थिइन्। यसपटक रानाले समानुपातिकको सुरक्षित बाटो छाडेर प्रत्यक्षतर्फको चुनौतीपूर्ण प्रतिस्पर्धा रोजेकी हुन्।

घिमिरेका लागि यसपटकको बाटो २०७९ जस्तो सहज देखिँदैन। अघिल्लो निर्वाचनमा उनले २८ हजार ७१६ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपालले २६ हजार ४५५ मतका साथ कडा टक्कर दिएका थिए। सो बेला रास्वपाका उम्मेदवारले ८ हजार ७८१ मत मात्र पाएका थिए।

यसपटक समीकरण फेरिएको छ । अघिल्लो पटक घिमिरेलाई हम्मेहम्मे पारेका स्वागत नेपाल अहिले राप्रपामा प्रवेश गरेका छन्, जसले राप्रपाको मतलाई बलियो बनाउने देखिन्छ। नम्बर ५ मा बालेन शाहको उम्मेदवारीले समग्र झापाभरि नै एमालेको परम्परागत मतमा धक्का पुर्‍याउन सक्ने अनुमान गरिएको छ।

उपसभामुख हुँदा सत्तापक्षबाट खेपेको पेलान र अविश्वासको प्रस्तावको जवाफ आफूले जनताको मतबाट दिने दाउमा इन्दिरा राना छिन्। झापा–२ मा अर्जुनधारा नगरपालिका, बिर्तामोडका १–९ वडा, बुद्धशान्तिका १–३ र कन्काईका ८ र ९ नम्बर वडाहरू पर्दछन्। यी क्षेत्रहरूमा एमालेको बलियो संगठन रहे पनि ‘जेनजी विद्रोह’ र पछिल्लो राजनीतिक अस्थिरताका कारण युवा मतदाताको झुकाव कता जान्छ भन्ने कुराले नतिजा निर्धारण गर्नेछ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.