एमालेद्वारा देशभर उम्मेदवारी दर्ता

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार १८:०४

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताको समय सकिएको जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा गरी २४०० भन्दा बढी उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्। यो सङ्ख्या केही बढ्न सक्ने र आयोगले केही बेरमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बताएको छ।

नेकपा (एमाले) ले देशभरका सबै १६५ क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। एमाले प्रचार विभाग प्रमुख मीन बहादुर शाहीका अनुसार पार्टीले यसपटक ५४.५४ प्रतिशत युवा र नयाँ अनुहारलाई अवसर दिएको छ। एमालेबाट अध्यक्ष केपी शर्मा ओलीले झापा–५, महासचिव शङ्कर पोखरेलले दाङ–२, र उपाध्यक्षहरू विष्णु पौडेलले रुपन्देही–२, गोकर्ण विष्टले गुल्मी–२ तथा पृथ्वी सुब्बा गुरुङले लमजुङबाट मनोनयन दर्ता गरेका छन्।

यस्तै, उपमहासचिव लेखराज भट्टले कैलाली र रघुवीर महासेठले धनुषा–४ बाट उम्मेदवारी दिएका छन्। सचिवहरू भानुभक्त ढकालले तेह्रथुम, शेरधन राईले भोजपुर, राजन भट्टराईले काठमाडौँ–४, र महेश बस्नेतले भक्तपुर–२ बाट उम्मेदवारी दर्ता गराएका छन् भने नेता ईश्वर पोखरेलले काठमाडौँ–५ बाट मनोनयन दर्ता गरेका छन्। पत्रकार सम्मेलनमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक निष्कर्ष निकाल्दै लोकतन्त्रको संरक्षण र राजनीतिक स्थायित्वका लागि एमाले निर्वाचनमा सहभागी भएको बताए।

नेपाली कांग्रेसले पनि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गराएको छ। कांग्रेसका तर्फबाट डा. शेखर कोइरालाले मोरङ–६, गगनकुमार थापाले सर्लाही–४, विमलेन्द्र निधीले धनुषा–३, र प्रदीप पौडेलले काठमाडौँ–५ बाट मनोनयन दर्ता गरेका छन्।

यस्तै, झापा–२ बाट सरिता प्रसाई, धनकुटाबाट दिनेश राई, र नुवाकोट–१ बाट डा. प्रकाशशरण महतले उम्मेदवारी दिएका छन्। लुम्बिनी प्रदेशमा विनोद चौधरीले नवलपरासी–१ र चन्द्रकान्त भण्डारीले गुल्मी–१ बाट मनोनयन दर्ता गराएका छन् भने सुदूरपश्चिमको डडेल्धुराबाट नैनसिंह महर र कञ्चनपुर–२ बाट नारायण प्रकाश साउद चुनावी मैदानमा उत्रिएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.