रेशम चौधरीको उम्मेदवारी रद्द

Share this
607shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार १८:०७

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालविक्रम थापाको उम्मेदवारी पनि खारेज भएकाे छ ।

‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ। कानून बमोजिम गर्नु,’ निर्वाचन अधिकृतले गरेको निर्णयमा उल्लेख छ ।

निर्वाचन अधिकृत देवराज भारतीले उम्मेदवारी खारेज गर्ने निर्णयमा मुख्यगरी तीन आधार समातिएको छ ।

‘सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय भएको देखियो । जन्मकैदको सजाय भएको व्यक्ति उम्मेदवार बन्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार अयोग्यताको कारण बन्छ,’उनले भनेका छन्,’ त्यसबाहेक राजनीतिक दलको सदस्य हुन समेत अयोग्य भएको भनेर यसअघि निर्वाचन आयोगले गरेको निर्णयलाई पनि हामीले आधारका रुपमा लिएका छौँ। साथै उहाँले कैद माफी पाएको तर सजाय उस्तै रहेको देखियो ।’

टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए । तर, प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.