
काठमाडौँ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको सम्पूर्ण शक्ति प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने जानकारी दिए। ‘राप्रपा माघ ११ को राष्ट्रियसभा निर्वाचनमा सहभागी हुँदैन,’ प्रवक्ता श्रेष्ठले भने ‘यो निर्वाचनमा हाम्रा उम्मेदवार छैनन्। प्रतिनिधिसभामा हाम्रो सम्पूर्ण ध्यान भएकाले राष्ट्रियसभामा नअल्मलिने निष्कर्षमा पुगेका हौँ।’
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ। राप्रपाका हाल २८ प्रदेश सांसद छन् भने स्थानीय तहमा पनि केही प्रमुख तथा उपप्रमुख छन्। तर, पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मुख्य प्राथमिकता दिएको प्रवक्ता श्रेष्ठले बताए।
























