
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी निर्वाचनमा व्यक्तिभन्दा पार्टीले उठाएका मुद्दाहरूका आधारमा प्रतिस्पर्धा हुने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले चुनावमा व्यक्तिले नभई उसले उठाएको मुद्दाले प्रतिस्पर्धा गर्ने बताए। कांग्रेसले उठाएका एजेन्डाहरू चुनावी घोषणापत्रमार्फत स्पष्ट पारिने उनले जानकारी दिए।
महामन्त्री पौडेलले यसपटकको निर्वाचनमा पार्टी सभापतिलाई मधेसबाट उम्मेदवार बनाएर देश विकासको सुरुवात गर्न चाहेको खुलासा गरे। सभापति मधेसबाट निर्वाचित भएर आएपछि देश नयाँ संकल्पका साथ जोडिने उनको तर्क छ।
यस्तै, कांग्रेसले यसपटक निर्वाचनअघि नै पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने अभ्यास सुरु गर्न खोजेको उनले बताए। कांग्रेसकै नेतृत्वमा देश बनाउने गरी आफ्ना मुद्दाहरूलाई स्थापित गर्ने महामन्त्री पौडेलले दाबी गरे।
























