उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १७:०८

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी गैरकानुनी रूपमा रद्द गरिएको दाबी गर्दै उनले निर्वाचन अधिकृतको कार्यालय कैलाली निर्वाचन क्षेत्र नम्बर १ को निर्णय बदर हुनुपर्ने माग गरेका हुन् । चौधरीले निवेदनमार्फत आफ्नो उम्मेदवारी यथावत राख्न र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने अधिकार सुनिश्चित गर्न सर्वोच्चसँग आग्रह गरेका छन् ।

उनको निवेदनमाथि आगामी आइतबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ । निर्वाचन अधिकृतको कार्यालयले जन्मकैदको सजायको अभिलेख कायम रहेको कारण देखाउँदै चौधरीको उम्मेदवारी खारेज गरेको थियो ।

टीकापुर घटनासम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका चौधरी राष्ट्रपतिबाट आममाफी पाएपछि कारागारमुक्त भएका थिए । तर, आममाफी भए पनि कसुर र कैदको अभिलेख रहने भन्दै उम्मेदवारी अस्वीकार गरिएको निर्वाचन अधिकृतको तर्क छ ।

चौधरी पक्षले भने आममाफीपछि सजाय कार्यान्वयन समाप्त भइसकेको र संविधानले प्रत्याभूत गरेको राजनीतिक अधिकारबाट वञ्चित गर्न नमिल्ने जिकिर गरेको छ । यो मुद्दाले आममाफीपछिको राजनीतिक अधिकार र उम्मेदवारी योग्यतासम्बन्धी कानुनी व्याख्यामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.