ठूला सपना होइन, व्यवहारिक काम चाहिन्छ : बालेन साह

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १२:११

तेह्रथुम । झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन साह चुनावी प्रचारप्रसारका क्रममा तेह्रथुम पुगेका छन् ।

उनले तेह्रथुम सदरमुकाम म्याङ्लुङस्थित देवीथान क्षेत्रमा स्थानीय मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् । स्थानीयसँगको संवादमा साहले कुनै पनि क्षेत्रको वास्तविक अवस्था कागज, पुस्तक वा इन्टरनेटमा मात्र सीमित रहेर बुझ्न नसकिने बताएका छन् ।

प्रत्यक्ष रूपमा त्यही ठाउँमा पुगेर त्यहाँको हावापानी, माटो र जनजीवन अनुभव गरेपछि मात्र समस्या र सम्भावनाको सही बुझाइ हुने उनको भनाइ थियो । ‘तेह्रथुमको बारेमा विकिपिडियामा पढ्न सकिन्छ, किताबबाट पनि बुझ्न सकिन्छ,’ साहले भने, ‘तर यहीँ आएर यहीँको वातावरणमा बसेर, यहीँका मानिससँग भेटेर, आफ्नै आँखा, हात र मनले महसुस गरेपछि मात्र यो ठाउँ वास्तवमै कस्तो रहेछ भन्ने थाहा हुन्छ । भोलि संसदमा तेह्रथुमका समस्या उठाउँदा आफूलाई पनि स्पष्ट जानकारी होस् भनेर यहाँ आएको हुँ ।’

उनले रास्वपाको नेतृत्व इन्जिनियरिङ पृष्ठभूमिबाट आएको उल्लेख गर्दै योजनाबद्ध, व्यवहारिक र स्थानीयस्तरमै कार्यान्वयन गर्न सकिने कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ठूलो सपना देखाउने तर, कार्यान्वयन नहुने योजनाभन्दा तत्काल सम्भव र जनजीवनसँग प्रत्यक्ष जोडिने काम आवश्यक रहेको उनको भनाइ थियो ।

‘ठूला–ठूला कुरा गर्नेभन्दा पनि अहिले सकिने कुरा गरौँ,’ साहले भने, ‘तेह्रथुममा कृषि उत्पादनको सम्भावना राम्रो देखिन्छ, तर उत्पादनको उचित बजार नपाउनु मुख्य समस्या हो । नीति बनाउँदा यस्ता व्यावहारिक पक्षलाई केन्द्रमा राख्नुपर्छ ।’ कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीको पनि उपस्थिति रहेको थियो ।

भेटघाटका क्रममा स्थानीयले कृषि, बजार, रोजगारी र पूर्वाधारसम्बन्धी समस्या राखेका थिए । साहले यस्ता प्रत्यक्ष भेटघाटमार्फत स्थानीय तहका वास्तविक समस्यालाई बुझेर तिनलाई नीति र योजनामा समेट्ने उद्देश्य रहेको बताए ।

झापा–५ बाट उम्मेदवारी दिएका साह हाल पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय छन् । यसअघि उनी इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न स्थानमा पुगिसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.