निर्वाचनको मुखमै नेकपामा कारबाही, हरिबोल गजुरेलसहित ७ नेता पार्टीबाट निष्कासित

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १२:३७

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न आमनिर्वाचनको सन्दर्भमा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टी निर्णयविपरीत गतिविधि गरेको ठहर गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा शनिबार जारी विज्ञप्तिमार्फत उनीहरूलाई निष्कासित गरिएको हो । पार्टीबाट निष्कासित हुनेमा हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।

विज्ञप्तिमा आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेकपाका आधिकारिक उम्मेदवार तोकिएका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनको उल्लंघन गर्दै बागी उम्मेदवारी दिनेको प्रस्तावक बनेका, समर्थन गरेका वा सक्रिय रूपमा प्रचारमा संलग्न भएकाले विधानअनुसार कडा अनुशासनात्मक कारबाही गरिएको उल्लेख छ ।

नेकपाले विधानको दफा १०६ को प्रयोग गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको स्पष्ट पारेको छ । पार्टीका अनुसार निर्वाचनजस्तो संवेदनशील राजनीतिक प्रक्रियामा संगठनात्मक एकता, सामूहिक निर्णय र आधिकारिक उम्मेदवारको समर्थन अनिवार्य हुने भएकाले त्यसको उल्लंघनलाई गम्भीर अनुशासनहीनता मानिएको छ ।

निष्कासित नेतामध्ये हरिबोल गजुरेलको भूमिकालाई पार्टीले विशेष रूपमा गम्भीर रूपमा लिएको देखिन्छ । पार्टी निर्देशनविपरीत उनले सिन्धुली–२ मा बागी उम्मेदवारी दिएका महेश्वर दाहालको चुनावी प्रचारमा सक्रिय सहभागिता जनाएका थिए ।

पार्टीले बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको भए पनि त्यसलाई अवज्ञा गर्दै प्रचारमा निस्किएपछि गजुरेलमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ । शुक्रबार मात्र गजुरेल बागी उम्मेदवार दाहालको पक्षमा घरदैलो तथा भेटघाट कार्यक्रममा सहभागी भएको खबर सार्वजनिक भएपछि पार्टीभित्र आन्तरिक असन्तोष चुलिएको थियो ।

त्यसको भोलिपल्टै निष्कासनको निर्णय सार्वजनिक भएको हो । विज्ञप्तिमा निर्वाचनका क्रममा व्यक्तिगत महत्वाकांक्षा वा स्थानीय समीकरणका नाममा पार्टी निर्णयविपरीत गतिविधि गर्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने उल्लेख छ । आधिकारिक उम्मेदवारलाई कमजोर पार्ने कुनै पनि प्रयास सह्य नहुने भन्दै भविष्यमा यस्ता गतिविधिमा संलग्न हुने जोकोहीमाथि पनि उस्तै कारबाही हुने उल्लेख गरिएको छ ।

यस घटनाले नेकपाभित्रको आन्तरिक अनुशासन, नेतृत्वको नियन्त्रण क्षमता र निर्वाचन रणनीतिलाई लिएर नयाँ बहससमेत जन्माएको छ । निर्वाचन नजिकिँदै जाँदा पार्टीभित्र असन्तुष्ट समूह, बागी उम्मेदवारी र त्यसविरुद्धको कारबाहीले राजनीतिक तापक्रम अझ बढाउने संकेत देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.