
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसार अभियान मधेश प्रदेशबाट सुरु गर्ने भएको छ। माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा आयोजना गरेर कांग्रेसले चुनावी अभियानको बिगुल फुक्ने तयारी गरेको हो।
सभालाई पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। पार्टीले उपसभापति शर्मालाई निर्वाचन प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ। जनकपुरमा हुने सभाको संयोजन केन्द्रीय तहबाट शर्मा आफैँले गर्नेछन्।
सभाको तयारीका लागि मधेश प्रदेश समितिको बैठक शनिबार बस्दै छ। मधेश प्रदेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले प्रचार प्रसार र सभाको व्यवस्थापनका लागि आज बैठक बस्न लागेको जानकारी दिए। ‘माघ १६ गते हुने बृहत् सभामा लाखौँको संख्यामा कार्यकर्ता र सर्वसाधारण सहभागी हुने अपेक्षा छ,’ गुप्ताले भने।
यसपटकको निर्वाचनमा राजनीतिक दलहरूले मधेशलाई विशेष प्राथमिकतामा राखेका छन्। कांग्रेस सभापति गगन थापा आफैँ पनि यसपटक सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका छन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि जनकपुरमै चुनावी सभा आयोजना गरेको थियो। सोही सभाबाट काठमाडौँका पूर्वमेयर बालेन शाहले औपचारिक रूपमा चुनावी सम्बोधन गर्दै राजनीतिक सक्रियता देखाएका थिए। दलहरूले मधेशलाई आफ्नो शक्तिको केन्द्र बनाएर चुनावी गतिविधि तीव्र पारेका छन्।
























