
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साह (बालेन)लाई लक्षित गरेर सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत १ स्टाटस लेख्दै अध्यक्ष साम्पाङले साहको विगतको अभिव्यक्तिलाई लिएर कडा प्रश्न राखेका हुन् । उनले ‘सिंहदरबार खरानी बनाउनेहरूले पाथीभरा मातासँग के भाकल गरे ?’ भन्दै ब्यंग्यात्मक शैलीमा प्रश्न गरेका छन् ।
साम्पाङले आफूले हालै ताप्लेजुङस्थित पाथीभरा माताको दर्शन गरेको सन्दर्भ उल्लेख गर्दै त्यहाँ आफूले भ्रष्टाचार विरोधी कठोर प्रतिज्ञा गरेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘मैले पाथीभरा मातालाई भाकेर भनें, ‘मेरो राजनीतिक जीवनमा १ पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस् ।’
आफ्नो प्रतिज्ञा सुनाउँदै उनले झापा–५ बाट उम्मेदवार रहेका साहलाई चुनौती दिएका छन् । साम्पाङले यसअघि पनि साहले सिंहदरबारमा आगो लगाउने भनी दिएको अभिव्यक्तिलाई लिएर आलोचना गर्दै आएका थिए । सोही विषयलाई पुनः उठाउँदै उनले प्रश्न गरेका छन्, ‘सिंहदरबार खरानी बनाउनेहरूले चाहिँ के मागे छन् ? जनता जान्न चाहन्छन् ।’
सुनसरी–१ बाट चुनावी मैदानमा रहेका साम्पाङ र झापा–५ बाट उम्मेदवार बनेका साहबीचको यो वाकयुद्धले सामाजिक सञ्जालमा नयाँ बहस सिर्जना गरेको छ । भ्रष्टाचार र सुशासनको नारा बोकेर राजनीतिमा उदाएका दुवै नेताबीचको यो घोचपेचलाई चासोका साथ हेरिएको छ ।

























