
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यहरुलाई निर्वाचन लक्षित भएर सक्रिय हुन आग्रह गरेका छन् ।
पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन उच्च मनोबलसहित सक्रिय हुन आग्रह गर्दै उनले व्यक्तिगत पत्र लेखेका हुन् । अध्यक्ष ओलीले शनिबार साँझ करिब ६ लाख ६३ हजार सदस्यलाई पत्र पठाएका हुन् ।
पत्रमा आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने निर्णय गर्ने समय भएको उल्लेख छ। उनले देश निर्माणका लागि एमालेको बहुमत आवश्यक रहेको र त्यसका लागि सदस्यहरुको सक्रिय योगदान अपरिहार्य रहेको बताएका छन् ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार अध्यक्ष ओलीले व्यक्तिगत पत्रमार्फत सदस्यहरुलाई हौसला दिने र प्रत्यक्ष सम्पर्कको अनुभूति गराउने उद्देश्य राखेका हुन् । शाहीले भने, ‘यसबाट सदस्यहरु पार्टीका उम्मेदवारको विजय सुनिश्चित गर्न ऊर्जावान र सक्रिय हुने विश्वास गरिएको छ ।’
पत्रमार्फत एमालेले देशमा विध्वंस र आगजनी गर्नेलाई चुनावी मैदानबाटै बिदा गरी निर्माणको नेतृत्व गर्ने आफ्नो प्रतिबद्धता आम मतदातासम्म पुर्याउने प्रयास गरेको छ ।
























