
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आफूले विगत लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन्।
विराटनगरमा युवाहरूसँग अन्तरक्रिया गर्दै नेता कोइरालाले ‘जेन जी’ आन्दोलन सुरु हुनुभन्दा अघिदेखि नै पार्टीभित्र युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्दामा आफूले काम गरेको बताए। जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू यतिबेला ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ मा लागेको उल्लेख गरे।
कोइरालाले भने, ‘युवाको माग र मुद्दामा मैले कुनै कञ्जुस्याईं गरिनँ।’
युवाहरूको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफ्नो जोड रहेको बताउँदै उनले अगाडि भने, ‘मैले विगतमै युवालाई तीन क्लस्टरमा बाँडेर अघि बढ्नुपर्ने बताएको थिएँ। जसअनुसार केन्द्रमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ। यसो हुन सके मात्रै युवाहरूलाई यही देशमा राख्न सकिन्छ भन्ने मेरो बुझाइ हो।’
























