
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सरगर्मीसँगै प्रधानमन्त्रीका दाबेदार शीर्ष नेताहरूबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्ने विषयले राजनीतिक वृत्त गर्माएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेलगत्तै उनका मुख्य प्रतिस्पर्धी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन्।
अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै आफू पारदर्शी बहसका लागि तयार रहेको बताए। उनले सामाजिक सञ्जालको प्रचारले वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेको भन्दै दलका एजेन्डा, विगतका काम र भविष्यको रोडम्यापबारे आमने–सामने बहस हुनु सकारात्मक हुने उल्लेख गरे। ओलीले प्रधानमन्त्रीका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई आग्रह समेत गरे।
ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै बालेन शाहले कडा टिप्पणी गर्दै बहस बहिष्कार गर्ने घोषणा गरे। उनले गत भदौको ‘जेनजी’ आन्दोलनका क्रममा भएको प्रहरी दमनलाई लक्षित गर्दै ओलीमाथि गम्भीर आरोप लगाएका छन्। बालेनले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु आफू पनि त्यसमा सामेल हुनु जस्तै भएको बताए। आफूलाई देश जलाउने शक्तिका रूपमा प्रस्तुत गरेकोमा कटाक्ष गर्दै बालेनले पहिले ‘आतङ्कवादी’ स्वीकार गर्न ओलीलाई चुनौती दिएका छन्।
























