ओलीको सचिवालयबाट राष्ट्रियसभामा ‘रोश्नी मेचे’ 

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार १९:२४
ओलीको सचिवालयबाट राष्ट्रियसभामा ‘रोश्नी मेचे’ 

विराटनगर । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा काम गरेकी रोश्नी मेचे कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन्। नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट देशको माथिल्लो सदन (राष्ट्रियसभा) मा पुग्ने उनी पहिलो महिला बनेकी छन्।

नेकपा एमालेको तर्फबाट महिला कोटामा उम्मेदवार बनेकी रोश्नीले नेपाली काँग्रेस र एमालेको समीकरणका कारण सहज जित हासिल गरिन् । मेचेले ७१७३ मत प्राप्त गर्दा नेकपा उम्मेदवार नमिता न्यौपानेले २२६८ मत प्राप्त गरेकी थिइन् ।

६ वर्षका लागि माननीयको यात्रा तय गरेकी रोश्नीको मनोनयन दर्ता अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा थिइन् । विगतमा ओलीको सचिवालय हुँदै सिंहदरबार प्रवेश गरेकी उनी अब राष्ट्रियसभा सदस्यको रूपमा संसद प्रवेश गर्नेछिन्।

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका बेला उनी आफ्नै पार्टीको महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएकी पात्र हुन् । एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघुकी केन्द्रीय सदस्य रहेकी उनलाई त्यति बेला महाधिवेशन प्रतिनिधि बन्न सदस्यता प्राप्त गरेको अवधि पुगेको थिएन । महाधिवेशन प्रतिनिधि बनेको भए उनी केन्द्रीय सदस्य बन्ने सम्भावना थियो । महाधिवेशन प्रतिनिधिमा रोकिएकी उनलाई केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य बनाइदिए ।

रोश्नीको यो फड्कोमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेको अनुभवको हो । झापा मेचीनगर–१२ (साबिक धाइजन) मा जन्मिएकी उनलाई गृह जिल्लाको र सीमान्तकृत समुदायको भएका कारण ओलीले आफ्नो सचिवालयमा स्थान दिएका थिए । केपी ओली प्रधानमन्त्री हुँदा उनको स्वकीय सचिवालयमा काम गर्ने उनी एक्ली महिला थिइन् ।

१० / १२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहेकी उनले सचिवालयमा रहेर सत्ता र राजनीतिको अनुभव बटुल्ने मौका पाइन् ।

महाधिवेशन प्रतिनिधि बन्न योग्यता नपुगेको भनिए पनि रोश्नीको शैक्षिक पृष्ठभूमि भने निकै मजबुत छ। २०५५ सालमा बलभद्र माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेकी उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनले कानुनमा स्नातक गरेकी छन् र उनी अधिवक्तासमेत हुन् ।

झापाका मेचीनगर, बिर्तामोड, हल्दीबारी र कचनकबल लगायतका क्षेत्रमा मात्र बसोबास गर्ने मेचे समुदाय नेपालको अति सीमान्तकृत र लोपोन्मुख समुदाय हो । राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउने यो समुदायबाट उनी माथिल्लो तहमा पुगेकी हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.