
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूले अब एउटै प्रकृतिका २ बैंक खाता खोल्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्वाचन आयोगको अनुरोधमा यस्तो सुविधा प्रदान गरेको हो ।
निर्वाचनको क्रममा राजनीतिक दल र उम्मेदवारहरूले आम्दानी तथा खर्च पारदर्शी रूपमा व्यवस्थापन गर्नुपर्ने छ । त्यसका लागि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा उम्मेदवार र दलले छुट्टै बैंक खाता खोल्न पाउने व्यवस्था छ ।
यसै प्रयोजनका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई एउटै प्रकृतिका २ खाता खोल्न सहज बनाउन निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सामान्यतया एउटै प्रकारको बैंक खाता मात्र खोल्न पाइने नियममा यो निर्वाचनकालीन अपवाद दिएको हो ।
निर्वाचन सम्पन्न भई आयोगको निर्णय अनुसार बन्द नभएसम्म खाता सञ्चालनमा रहनेछन् । यसअघि जारी एकीकृत निर्देशन २०८२, निर्देशन नम्बर २१ को बुँदा ४५ अनुसार एउटै व्यक्तिले एउटै प्रकृतिका १ भन्दा बढी खाता खोल्न नपाउने व्यवस्था थियो ।
तर, निर्वाचनका लागि यो नियममा अपवाद गर्दै उम्मेदवारहरूले आफ्नो राजनीतिक अभियानको लागि छुट्टै खाताको सुविधा पाउने भएका हुन् । उम्मेदवार र राजनीतिक दलका बैंक खातामा हुने सबै आय–व्ययको निगरानी गर्न निर्वाचन आयोगले अनुगमन अधिकृत तोकेको छ ।
अधिकृतले निर्वाचनका क्रममा हुने खर्च, आय–व्ययको विवरण, आर्थिक अनुशासन र कानुनी सीमाको पालना भएको–नभएको अनुगमन एवं नियन्त्रण गर्ने छन् । आयोगका अनुसार अनुगमन अधिकृतको कार्य निष्पक्ष, पारदर्शी र कानुनअनुसार हुनेछ ।
आयोगले अनुगमन अधिकृतका लागि १० वटा कार्यसर्त पनि तोकेको छ । जसअनुसार सबै कामकाज व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन हुनेछ ।
यस व्यवस्थाले चुनावी खर्च र आम्दानी–व्ययको पारदर्शिता बढाउने अपेक्षा गरिएको छ । साथै, उम्मेदवारहरूले आफ्नो निर्वाचन अभियान व्यवस्थित र कानुनसम्मत रूपमा सञ्चालन गर्न सक्ने वातावरण सिर्जना हुनेछ ।
























