
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जानकारी दिएको छ । त्यसका कारण देशका विभिन्न भू–भागमा बादल लाग्ने, वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार आज (मंगलबार) बिहान कोशी र मधेश प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा तुवाँलो लागेको छ । यस्तै, देशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी अधिकांश भू–भागमा मौसम सामान्यतया सफा देखिएको छ ।
मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा बादल लाग्ने सम्भावना रहेको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपात र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको छ भने गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रका १–२ स्थानमा पनि यस्तै अवस्था देखिन सक्ने पूर्वानुमान गरिएको छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने उल्लेख गरिएको छ ।
राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली भू–भागमा बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ ।
यस अवधिमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मध्यम खालको हिमपात र वर्षा हुने सम्भावना रहेको छ। यस्तै, अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपात हुन सक्ने बताइएको छ।
त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा तराई भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसमेत पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

























