
सप्तरी । सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाभर आचारसंहिता विपरीत राखिएका राजनीतिक दलका झण्डा र पोस्टरहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन भएको गुनासो बढेपछि राजविराजमा आयोजित राजनीतिक दल र उम्मेदवारहरूसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो ।
मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले दल तथा उम्मेदवारहरूलाई आफैँ सामग्री हटाउन आग्रह गर्दै अटेर गरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिए । ‘२४ घण्टापछि अनुगमन समितिले निरीक्षण गर्नेछ, सो समयमा पनि सामग्री नहटाएको पाइएमा कानुन बमोजिम कारबाही हुनेछ,’ उनले भने ।
निर्वाचन कार्यालयका अनुसार आचारसंहिता बमोजिम फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र प्रचारप्रसार सामग्री प्रयोग गर्न पाइने व्यवस्था छ। प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सुरक्षा निकायका प्रतिनिधि र उम्मेदवारहरूको सहभागिता रहेको सो छलफलमा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सबै पक्षलाई आचारसंहिता पालना गर्न आग्रह गरिएको छ।
























