कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युगको प्रतिनिधि : शर्मा

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार १३:१७

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युग र नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित पार्टीको एक भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस अब विगतका कमजोरीप्रति आत्मालोचना गर्दै आफूलाई बदलेर अघि बढेको दाबी गरे।

उनले सम्बोधनका क्रममा प्रधानमन्त्रीका अन्य उम्मेदवारहरूलाई लक्षित गर्दै ‘भदौ २३ र २४’ को प्रसङ्ग निकालेका थिए। शर्माका अनुसार अहिलेका अन्य उम्मेदवारहरू कोही भदौ २३ र कोही भदौ २४ का प्रतिनिधि हुन्, तर कांग्रेसले अघि सारेको उम्मेदवार भने ‘माघ १’ को प्रतिनिधि हो। हालैको विशेष महाधिवेशनपछि कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

सद्भाव र सुशासन मुख्य मुद्दा उपसभापति शर्माले अहिलेको समाजलाई सबैभन्दा बढी सद्भावको आवश्यकता रहेको औँल्याए। उनले भने, ‘हामीले सारा विषयलाई दस्ताबेजमा समेटेर, गल्तीहरूमा क्षमा मागेर र आफूलाई बदलेर पार्टीलाई नयाँ युगमा पुर्‍याएका छौँ।’ निर्वाचनमा हारजितलाई स्वाभाविक प्रक्रिया मान्दै उनले अहिलेको मुख्य मुद्दा सद्भाव, सुशासन र समुन्नति हुनुपर्नेमा जोड दिए। कांग्रेस अब देश परिवर्तनका निम्ति पूर्ण सङ्कल्पका साथ मैदानमा उत्रिएको उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.