
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते दिउँसो २ बजे बैठक बोलाउन सिफारिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बताए।
प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माण भइरहेकाले यस पटकको अधिवेशन विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन गरिने भएको छ। मन्त्री पराजुलीका अनुसार मासिक ८ लाख रुपैयाँ भाडा तिर्ने गरी सभागृहमा बैठक बस्ने तयारी गरिएको हो।
मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित अन्य ६ वटा महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ। सरकारले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित भई आएको कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश २०८२ लाई स्वीकृत गरेको छ। यसैगरी प्रदेशमा कानुनी सहायता सम्बन्धी व्यवस्था गर्नका लागि कोशी प्रदेश कानुनी सहायता विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिएको छ।
विकास आयोजनाहरूतर्फ नेपाल र जापान सरकारबीचको आपसी सहमतिमा सञ्चालित कोशी पम्प चन्द्र नहर सिँचाइ आयोजनामा प्रयोग हुने सवारी साधनहरूलाई कर छुट दिने प्रस्ताव पारित भएको छ। त्यस्तै ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकारको तर्फबाट साढे १२ प्रतिशत म्याचिङ फण्ड उपलब्ध गराउने निर्णय भएको छ।
यो कार्यक्रम अन्तर्गत संघीय सरकारले ७७ करोड पुँजीगत र ७० लाख रुपैयाँ चालु बजेट उपलब्ध गराएको छ। बैठकले विपन्न नागरिकको आवासको अधिकार सुरक्षित गर्नका लागि कोशी जनता आवास सम्बन्धी मापदण्ड सहितको कार्यविधि २०८२ लाई समेत स्वीकृत गरेको छ।

























