मोरङ- ४ मा अमनलाल : दुई चुनावमा गठबन्धन, अहिले एक्लै

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार १७:२६
अमनलाल माेदी, गुरुराज घिमिरे, जीवन घिमिरे र सन्ताेष राजवंशी ।

विराटनगर । २८ वर्षको उमेरमा दोस्रो संविधानसभा सदस्य निर्वाचित भएका नेपाली कम्युनिष्ट पार्टीका नेता अमनलाल मोदी १२ वर्षयता सांसद छन् । तत्कालिन नेकपा माओवादी केन्द्रबाट २०७० मा समानुपातिक सांसद बनेका उनी २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित भए । २०७९ सालमा पनि उनी विजयी भए ।

२०७४ मा नेपाली कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गर्दा उनी जम्मा ३२ वर्षको थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले नेता विनोद ढकाललाई पराजित गरे । लगातार तेस्रो पटक संसद बनेका उनी चौथो पटक संसद छिर्ने दाउमा छन् । उनको प्रतिस्पर्धा सँगै चुनाव लडेका पूर्व सहकर्मीसँग छ ।

एक पटक सामान्य प्रशासन मन्त्रीपनि भएका उनका लागि फागुन २१ को निर्वाचन अग्नी परीक्षा हो । किनकी २०७४ सालको निर्वाचनमा उनी विजयी हुँदा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन थियो । २०७९ सालको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल थियो ।

पहिलो पटक दलबाट एक्लै प्रतिस्पर्धा गरिरहेका उनलाई नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरे र नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवन घिमिरे प्रतिस्पर्धी छन् । २०७९ को आम निर्वाचनमा यी दुवै नेताहरू प्रदेश सभातर्फ पराजित भएका थिए । निर्वाचनमा राष्ट्रीय स्वतन्त्र पार्टीबाट पूर्वपत्रकार सन्तोष राजवंशी उम्मेदवार छन् ।

२०७९ सालको निर्वाचनमा गुरुराज र अमन एउटै गठबन्धनबाट उम्मेदवार बनेका थिए । अमन  प्रतिनिधिसभामा निर्वाचित हुँदा गुरुराज प्रदेशसभा तर्फ क्षेत्र नम्बर ४(१)मा पराजित भए । एमाले उम्मेदवार जीवन घिमिरेसँग अमनको तालमेल २०७४ सालको निर्वाचनमा भएको थियो । अमन प्रतिनिधिसभामा निर्वाचित हुँदा ४(२)बाट निर्वाचित भएका घिमिरे कोशी प्रदेशको सामाजिक विकास मन्त्री पनि भएका थिए ।

यस्तो छ अंकगणित

१ लाख १९ हजार २५५ मतदाता रहेको यो क्षेत्र थारु बाहुल्य क्षेत्र हो । मोरङ ४ मा ग्रामथान र कटहरी गाउँपालिको सबै वडासहित विराटनगरको १, २, ३, ८, १०, १९ बेलबारीको ५, ६ र ७ वडा पर्दछ । जम्मा २३ वटा वडाहरू समेटिएका छन् । पुरुष मतदाता ६१ हजार १९२ र महिला मतदाताको संख्या ५८ हजार ६२ छन् । १ जना अन्य मतदाता रहेका छन् । मतदानका लागि यस क्षेत्रमा ४० वटा मतदान स्थल र १३१ वटा मतदान केन्द्र तोकिएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले बलियो छ । यो क्षेत्रको २३ वडाहरूमध्ये एमालेले १८ वटा वडा जितेको छ । नेपाली कांग्रेसले ३ वडा र माओवादी केन्द्रले मात्र १ वडा जितेको थियो  । २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा अमनलाल मोदीले ३० हजार ६१२ सहित विजयी हुँदा एमाले उम्मेदवार विनोद ढकालले २४ हजार ४६३ मत प्राप्त गरेका थिए । गत मंसिरमा भएको उपनिर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.