मोरङ–५ : कांग्रेस र एमालेको ‘कमब्याक’, अनि योगेन्द्र, शिवकुमार र राजकुमारबीच अस्तित्वको लडाइँ

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार १८:४७

विराटनगर । राजनीतिको अंकगणित र जनमतको लहर सधैँ सोचेजस्तो हुँदैन । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ ले यसको एउटा जीवन्त उदाहरण पेस गर्‍यो ।

वर्षौँदेखि प्रभाव जमाएका दलहरूलाई उछिन्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले संसद्को यात्रा तय गरे । ठूला दलको दबदबा तोडेर सांसद बनेका मण्डल यतिबेला दल खोलेर चुनावी मैदानमा छन् ।

३ वर्षअघि ‘चापाकल’ चुनाव चिन्ह बोकेर गाउँ पसेका योगेन्द्र मण्डल यसपटक राष्ट्रिय ऊर्जाशील पार्टीको उम्मेदवार बनेर भोट मागिरहेका छन् । जीवन विकास समाजमार्फत २ हजार बढीलाई रोजगारी र लघुवित्तमार्फत गाउँगाउँमा उद्यमी बनाएका मण्डलको यो क्षेत्रमा व्यक्तिगत प्रभाव बलियो छ । ‘पहिले एक्लै थिएँ, अहिले दलसहित छु’ भन्दै उनी मैदानमा छन् । तर, स्वतन्त्र हुँदा पाएको सहानुभूति यो पटक पाउन मुख्य चुनौती छ ।

कांग्रेस र एमालेका उम्मेदवार

यसअघिको निर्वाचनमा आफ्ना उम्मेदवार नभएका देशका २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले यसपटक आफ्नै झण्डा र चुनाव चिन्हसहित मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसले मारवाडी समुदायका फुलकुमार लालवानीलाई अघि सारेको छ । नेकपा (एमाले)ले व्यापारिक पृष्ठभूमि भएका मनोज अग्रवाललाई चुनावी मैदानमा उतारेको छ । यी २ ठूला दलको उपस्थितिले अघिल्लो पटक छरिएको मत अब कता ध्रुवीकृत हुन्छ भन्ने कुराले नै नतिजा तय गर्ने देखिन्छ ।

शिवकुमारको अस्तित्वको लडाइँ

नेकपा उम्मेदवार शिवकुमार मण्डल यस क्षेत्रका सबैभन्दा पुराना र अनुभवी राजनीतिज्ञ हुन् । २०६४ देखि निरन्तर चुनावी राजनीतिमा सक्रिय मण्डलका लागि यो छैटौँ परीक्षा हो । कहिले ८ मतको झिनो अन्तरले जित्ने त कहिले पराजयको स्वाद चाख्ने शिवकुमारका लागि यसपटकको निर्वाचन अस्तित्वको लडाइँ जस्तै बनेको छ ।

मधेश आन्दोलनको राप र तापसँगै उदाएको उपेन्द्र यादवको प्रभाव क्षेत्रमा जसपाका राजकुमार यादव पनि बलियो दाबेदार हुन् । २ पटक तेस्रो स्थानमा खुम्चिएका यादव यसपटक नतिजा उल्ट्याउने कसरतमा छन् ।

परम्परागत दल र पुराना अनुहारको भिडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आशा झा उम्मेदवार छिन् । नयाँ पुस्ता र परिवर्तन चाहने मतदाताको मत तान्न सके उनले कसको भोट बैंक बिगाार्ने हुन् भन्नेमा ठूला दल सशंकित छन् । २१ जना उम्मेदवार रहेको यो क्षेत्रमा साना दल र स्वतन्त्रले काट्ने मत नै निर्णायक बन्न सक्छ ।

भारतसँग जोडिएको सीमावर्ती क्षेत्र भएकाले मोरङ–५ का समस्या पुरानै छन् जीर्ण सडक, कृषिमा मलखादको अभाव, नागरिकताको समस्या र सीमापार तस्करी । हरेक निर्वाचनमा उम्मेदवारहरूले यी समस्या समाधान गर्ने ‘रेडिमेड’ आश्वासन बाँड्छन् । तर, मतदाताको जीवनस्तरमा परिवर्तन आउन सकेको छैन । मोरङ–५ को यो निर्वाचन योगेन्द्र मण्डलको साख, ठूला दलको पुनरागमन र मधेश केन्द्रित दलको पकडको अग्निपरीक्षा पनि हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.