
काठमाडौं । सहिद दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा एवं सपना साकार पार्न सम्पूर्ण राजनीतिक दल, आम नागरिक र सरोकारवाला सबैलाई मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सच्चा सहादत भएको उल्लेख गरे । सहिद दिवसले सहिदहरूको आदर्श र उद्देश्यलाई व्यवहारमा उतार्ने प्रेरणा र हौसला प्रदान गरोस् भन्ने उनको कामना छ ।
नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत ज्ञातअज्ञात सम्पूर्ण अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति पौडेलले माघ १६ गतेलाई देशका लागि प्राण आहुति दिने सहिदहरूको विशेष स्मरण गरिने दिनका रूपमा लिइने स्मरण गराए ।
सन्देशमा इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरंकुश र तानाशाही शासनविरुद्ध भएका आन्दोलनहरूमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन बलिदान दिने वीर वीरगंनाको योगदानलाई स्मरण गर्दै सहिद दिवस मनाइँदै आएको उल्लेख छ । उनले सहिदका सपना पूरा गर्न राष्ट्रिय एकताको आह्वानको पनि गरेका छन् ।
सहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरेका छन् ।

























