
काठमाडौं। अमेरिकामा रहेका नेपालीहरूले भिसाको दुरुपयोग गरिरहेको सूचना प्राप्त भएको भन्दै अमेरिकी सरकारले नेपाली दूतावासलाई सचेत गराएको छ। अमेरिकी अधिकारीहरूले नेपालीहरूको ग्रिनकार्ड स्टाटसमा समेत सोझै असर पर्न सक्ने र रद्द हुन सक्ने जानकारी गराएपछि वासिङ्टनस्थित नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरेको छ।
दूतावासका अनुसार अध्ययन, भ्रमण, रोजगारी वा व्यवसायका लागि अमेरिका पुगेका विदेशी नागरिकले गलत विवरण पेश गरी सहुलियतपूर्ण स्वास्थ्य उपचार, आवास, परिवार सहायता र शैक्षिक सहायता जस्ता सरकारी सुविधाहरू लिएको पाइएमा उनीहरूको भिसा वा ग्रिनकार्ड रद्द हुनेछ। सन् २०२४ को तथ्याङ्कले नेपाली नागरिकहरू अमेरिकी सरकारको सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेको देखाएको छ। यसै कारण अमेरिकाले हाललाई नेपालीका लागि आप्रवासी भिसा बन्द गरेको सूचना समेत जारी गरेको छ।
विशेषगरी बी१/बी२ (पर्यटक) भिसामा गएका नेपालीहरू तोकिएको समयभन्दा बढी बस्ने (ओभरस्टे) र अवैध रूपमा रोजगारीमा संलग्न हुने गरेको पाइएको छ। यसलाई नियन्त्रण गर्न अमेरिकी सरकारले २१ जनवरी २०२६ देखि लागू हुने गरी बी१/बी२ भिसा आवेदनमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी (भिसा बन्ड) राख्नुपर्ने नयाँ प्रावधान ल्याएको दूतावासले जनाएको छ।
दूतावासले यस्ता गैरकानुनी कार्यले भविष्यमा अमेरिका जान चाहने नेपालीहरूका लागि भिसा प्रक्रिया अझ कठिन हुने र मुलुकको प्रतिष्ठामा समेत गम्भीर असर पर्ने बताएको छ। तसर्थ, अमेरिकामा रहेका नेपालीहरूलाई गलत सूचना दिएर सरकारी सहायता नलिन र भिसाको दुरुपयोग नगर्न दूतावासले आग्रह गरेको छ।

























