
विराटनगर । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको त्रिशुलेमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खसेको हो।
दुर्घटनामा तेह्रथुमका ५३ वर्षीय रेवान्तकुमार कामी, २३ वर्षीय रविन लिम्बू र २२ वर्षीय राज लिम्बू घाइते भएका छन्। त्यस्तै धनकुटाकी २८ वर्षीया मुना रुचाल, ५ वर्षीय बालक निक्खि रुचाल र सुनसरीकी ४७ वर्षीया चन्द्रकला लिम्बू पनि घाइते भएको प्रहरीले जनाएको छ।
धनकुटाका प्रहरी प्रवक्ता ज्ञानकुमार महतोका अनुसार बसमा जम्मा १५ जना सवार थिए। घाइतेहरूको उद्धार गरी उपचारका लागि धनकुटा–१ स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा पठाइएको छ। अन्य यात्रु भने सुरक्षित रहेको प्रहरीले बताएको छ।

























