
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी प्रदेश र स्थानीय तहको निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन सम्पन्न भइसक्ने बताएका छन्। शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उनले यस्तो जानकारी दिएका हुन्।
नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने उनले जिकिर गरे। देशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति वा महामन्त्रीको घर धाउनु नपर्ने भन्दै थापाले पार्टीमा कुनै गुट नरहेकोले विगतको जस्तो ६०–४० को भागबण्डा अब सकिएको बताए।
कांग्रेसले पार्टीभित्र र बाहिर कतै पनि भागबण्डा नगर्ने घोषणा गर्दै उनले अब सबैलाई समान व्यवहार गर्ने गरी पार्टी चल्ने स्पष्ट पारे। सभापति थापाले कांग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको बताउँदै बदलिएको कांग्रेसले मात्र नेपाल बदल्ने संकल्प गरेको उल्लेख गरे।
























