
काठमाडौँ । चलचित्र पत्रकार दिनेश सिटौलाको ४३ वर्षको उमेरमा निधन भएको छ। मस्तिष्कघात (ब्रेन ह्यामरेज) का कारण उपचाररत सिटौलाको आइतबार दिउँसो १२:४५ बजे काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको अस्पतालले पुष्टि गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारका क्रममा अछाम पुगेका सिटौला शुक्रबार बिहान एक्कासि बेहोस भएर ढलेका थिए।
अछाममा प्रारम्भिक उपचारपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। चिकित्सकका अनुसार उनलाई ‘एन्युरिज्म रप्चर’ (मस्तिष्कको नसा फुट्ने समस्या) भएको थियो।
सिटौलाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आजै दिउँसो २:३० देखि ३:०० बजेसम्म चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिने कार्यक्रम छ। त्यसपछि आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने परिवारले जनाएका छन्।
सिटौला करिब दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय थिए। उनी चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष र अनलाइन पोर्टल ‘द सिनेमा टाइम्स’ का सञ्चालक तथा सम्पादक समेत हुन्। अविवाहित रहेका सिटौलाका बुबा, एक दिदी र दुई दाजुभाइ छन्।

























